प्रधानमन्त्री ओली इतिहासमै कलंकितः प्रचण्ड
२६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आव्हान गर्नुभयो । पार्टी एकीकरणको समय देखि नै लोकतन्त्र र संविधान विपरित कार्यशैली देखाउदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिडेकाले आफुहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले संविधान, लोकतन्त्र र गणतन्त्र विरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गर्नुभयो । अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यता बाट समेत बर्खास्त गरिसकेकाले उहाँको नेकपा संग कुनै सम्बन्ध नभएको दाबी गर्नुभयो । उहाँले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उहाँले आफुहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको संघर्षलाई ओली र आफुहरुबीचको निजी लडाईको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईको रुपमा बुझ्न आग्रह गर्नुभयो ।