सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुरः मन्त्री तुम्बाहाम्फे
२४ माघ, काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर रहेको बताउनुभएको छ ।
शनिबार काठमाण्डौमा भुमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरुको हातमा पुर्जा दिनका लागि आतुर रहेको बताउनुभएको हो । सरकारको आतुरतालाई व्यवहारमा उर्तानको निम्ति भुमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उहाँको भनाई छ । सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरुले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो । गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समुह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेको पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । आयोगका पदाधिकारीहरुले स्थानिय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।