माझी समुदायलाई एकीकृत नमूना बस्ती हस्तान्तरण

स्वर्णिम खबर
२४ माघ २०७७, शनिबार १८:११

२४ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउमा तयार भएको एकीकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती बनेको छ । बस्ती निर्माणका लागि पालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो । बस्ती हस्तान्तरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माझी समुदायले सुरक्षित घर प्राप्त गरेपछि आवासमा सहजता हुने र जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानोमुक्त कार्यक्रममार्फत् काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका आवासविहीन नागरिकहरुलाई व्यबस्थितरुपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । बस्ती निर्माणका लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए । तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइए पनि लकडाउनका कारण काम प्रभावित हुँदा निर्माण समय लम्बिएको थियो । बस्ती निर्माणमा लाग्ने खर्च सरकारले ब्यहोर्ने र बस्तीमा बस्ने परिवारलाई श्रमदानबाट काम गर्न लगाउने नीति लिइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । यस्ता बस्ती प्रदेशका अन्य जिल्लामा सम्भाव्यता अध्ययन गरेर निर्माण गर्ने लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*