प्रचण्ड–माधव समूहद्वारा बिहिबार देशव्यापी आमहड्ताल घोषणा
२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंबैधानिक र गैरकानूनी रुपमा संबैधानिक निकायका पदाधिकारी नियुक्तीको विरोधमा विहिबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंबैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताउनुभयो । सरकारको प्रतिगमनकारी कदम विरुद्ध आन्दोलनरत रहेकै बेला असंबैधानिक र गैरकानूनी ढंगले संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गर्नुभयो । उहाँले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपुर्ण हुने प्रतिवद्धता जनाउनुभयो । पत्रकार सम्मेलनमा विप्लब समुहसंग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उहाँले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा देशव्यापी आमहड्ताल बारे नेतृ पम्पा भुसालले जानकारी गराउनुभएको थियो । उहाँले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधी लगायत अत्यावश्यक सेवाहरु सुचारु हुने स्पष्ट पार्नुभयो । यसअघि २२ गते का लागि तय भएको यवा र्याली कार्यक्रम माघ २८ गते पछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक निकायका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएपछि प्रचण्ड माधव समूहले त्यसको विरोधमा आमहड्ताल आव्हान गरेको हो ।