प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न मिल्दैनः गणेशप्रसाद तिमिल्सिना
१९ माघ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाउनुभएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ती जनाउनुभएको हो । संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उहाँको तर्क थियो । उहाँले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताउनुभयो । उहाँले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताउनुभयो । दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आईतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको अध्यक्ष तिमिल्सिनाले स्पष्ट पार्नुभयो । आईतबार संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ती जारी गरी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहित अधिकार प्रयोग गरि परिषद्ले गरेको पदाधिकारी नियुक्ति सम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको जानकारी गराउनुभएको थियो ।