प्रधानमन्त्री कप क्रिकेटः अन्तिम चार टोलीको टुंगो लाग्यो
१३ माघ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामासेमिफाइनल समिकरण पूरा भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रववेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले बागमती प्रदेशसँग भिड्ने । बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ ।