प्रधानमन्त्री कपः बागमतीको लगातार दोश्रो जीत, गण्डकीको पनि खाता खुल्यो

स्वर्णिम खबर
५ माघ २०७७, सोमबार १८:५०

५ माघ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले लगातार दोश्रो जीत निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । प्रदेश १ ले प्रस्तुत गरेको १ सय ३ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो । गण्डकीको लागि अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५–३५ रनको योगदार गरेका थिए । प्रदेश १ का लागि शुभांकर उराले समान २÷२ विकेट हात पार्दा दिपेश कंडेल र हेमन्त राईले १–१ विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २ रन बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान सिद्दान्त लोहनीले सर्वाधिक २४ रन बनाए थिए । गण्डकी प्रदेशको लागि विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । यस्तै टियु क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको छ । बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो । सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बागमतीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो । युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*