प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन्छुः प्रधानमन्त्री ओली
४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ ।
आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताउनुभएको हो । आफुले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उहाँको भनाई छ । आफुले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादा माथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताउनुभयो । निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उहाँको भनाई छ । उहाँले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकिकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो । विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उहाँको भनाई छ ।