देशमा भ्रष्टाचार व्याप्तः बामदेव गौतम
२ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको हो । देशमा भ्रष्टाचार समाप्त पार्नेगरी कुनै प्रभावकारी कदम नदेखिएको उहाँको भनाई छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणा अनुसारको व्यवहारमा नदेखिएको उहाँले बताउनुभयो । भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागु हुन नसकेको उहाँको भनाई छ । गौतमले प्रकृतिमा रहेका सबै प्राणिहरुको अन्तर्निहित सम्बन्ध नविगारीकन विकास गर्नुपर्ने बताउनुभयो । त्यसो नगरिए वातावरणमा प्रतिकुल असर परी मानिसको आयु घट्दै जाने उहाँको भनाई छ ।राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने बताउनुभयो ।