निर्वाचनमा गएर आफुलाई जनताबाट नै दण्डित गराउन प्रधानमन्त्रीको चुनौती
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफुलाई जनताबाट नै दण्डित गराउन चुनौति दिनुभएको छ ।
आईतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संसद विघटन गरि प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णयको विरोध गर्नेहरुलाई निर्वाचनमा गएर जनता बाट नै दण्डित गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले आफ्नो निर्णयमा चित्त नबुझ्नेहरुलाई जनताबीच गएर आफुलाई दण्ड दिन अपिल गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्र र जनताको बलिदानीको रक्षा गर्नका लागि आफुले जिम्मेबारीबोधका संसद विघटन गरेर ताजा जनादेशमा गएको बताउनुभयो । उहाँले संसद विघटन संगै आफ्नो लोकप्रियतामा कमि आएको टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै त्यसको परिक्षण निर्वाचनमा गएर गर्न चुनौति दिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रबाट सरकारलाई असहयोग गर्ने र पार्टी टुक्राउने प्रयासमा गुटका बैठक बस्ने गरेको दाबी गर्नुभयो । उहाँले मिति नै तोकेर बैशाख १३ देखि पुस ४ गते सम्म एक जना नेताको घरमा गुठका २ सय ८० बढी बैठक बसेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी भित्रबाट सरकारलाई असहयोग भएको र काममा व्यवधान श्रृजना गर्ने काम भएको दाबी गर्नुभयो । उहाँले आफुलाई नागरिक समाज र बुद्धिजिवी भन्नेहरुले राजनीतिक पक्षधरता देखाएको बताउनुभयो । संसद विघटनको विषय संविधान विपरित छ भनेर उछाल्ने काम भएको भन्दै उहाँले संविधान राम्ररी पढ्न आग्रह गर्नुभयो । उहाँले संसद विघटन राजनीतिक प्रश्न भएकाले अदालतले कानुनी र संबैधानिक प्रश्नको रुपमा इन्टरटेण्ट गर्न नहुने र खारेज गर्नुपर्ने तर्क गर्नुभयो । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको समयमा असाधारण, ऐतिहासिक र दु्रततर गतिमा काम भएको दाबी गर्नुभयो ।