कांग्रेस ताजा जनादेशमा जान डराउँदैनः नेता केसी
२५ पुस, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसले शनिबार सरकारविरुद्ध देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सरकारविरुद्ध गरेको प्रदर्शन तथा सभाअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ (ख) को हेटौंडामा भएको विरोध सभामा बोल्दै नेता केसीले लोकतन्त्रमाथिको हस्तक्षेप विरुद्ध जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउनुभयो । उहाँले कांग्रेस ताजा जनादेशमा जान नडराउने तर संविधानरिुद्ध भएको ठाडो हस्तक्षेप भने सहेर नबस्ने बताउनुभयो । देशमा बढ्दै गइरहेको अराजकता, अन्यौलको स्थितिलाई नियन्त्रण र नेतृत्व गरी सबैलाई संयोजन गरी अघि बढ्ने तागत नेपाली कांग्रेसमा मात्र रहेको नेता केसीले दाबी गर्नुभयो । सिंह दरबारलाई गाउँगाउँमा पु¥याउने भन्ने सोचका साथ संघीयता ल्याइएकोमा त्यसको विरुद्ध गाउँगाउँमा भ्रष्टाचार मौलाएको केसीको भनाइ छ । यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कुनै पनि बहुमत प्राप्त दलले संसद भंग गर्ने अधिकार नेपालको संविधानले नदिएको भन्दै केपी ओलीले संविधानको भावनामाथि खेलवाड गरेको बताउनुभयो । बैशाखमा निर्वाचन हुन नसकेमा स्वतः संसद पुनस्र्थापना हुनसक्ने गरी अदालतले फैसला गर्ने बानियाँले विश्वास व्यक्त गर्नुभयो । हेटौंडाको फरेष्टी गेटअघिबाट निस्किएको विरोध जुलुस बुद्धचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।