विकासविरोधीहरुले अविश्वासको प्रस्ताव ल्याएः मुख्यमन्त्री पौडेल
२५ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अविश्वासको प्रस्ताव फेल हुने दाबी गर्नुभएको छ ।
उद्योग संघ मकवानपुरको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेशसभामा आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई परास्त गरी आफ्नो नेतृत्वको प्रदेश सरकार कायम रहने बताउनुभयो । सरकारले काम गरेको देख्न नसक्ने र गर्न नदिनेहरुले उक्त प्रस्ताव दर्ता गराएको आरोप लगाउनुभयो । मकवानपुरकै सांसदहरुले समेत आफुविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उहाँले जनताले अब विकासप्रेमी र विकासविरोधी चिन्ने समय आएको बताउनुभयो । प्रदेश सरकारले उद्योग र औद्योगिक क्षेत्रको विषयमा धेरै काम गर्न खोजे पनि संघीय सरकारले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन नदिएर समस्या भएको बताउनुभयो । यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिंयाले प्रदेश सरकार उद्योगी व्यवसायीहरुको समस्यामा गम्भीर नभएको बताउनुभयो । कार्यक्रमको अवसरमा उद्योग संघ मकवानपुरले राक्सिराङ र कैलाश गाउँपालिकाको भार्ताका ३० चेपाङ परिवारलाई जाडोमा न्यानोको लागि कम्बल, पिठो लगायत सरसफाइको सामग्री वितरण गरेको थियो ।