नारायणकाजीको प्रधानमन्त्रीलाई आग्रहः आत्मआलोचना गरी संसद् सुचारु गर्नुस्
२४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकारको प्रयोगको हवला दिदैँ प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकारको प्रयोगको हवला दिदैँ संविधान माथि घात गरि प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो । संविधानको धारा ७६ ले सरकार निर्माणको पाँचवटा विकल्प प्रस्तुत गरेको र सो विकल्प बमोजिम सरकार बनाउन नसके स्वत्ः प्रतिनिधि सभा विघटन हुने प्रावधान रहेको भन्दै संविधानको धारा ७६ मा कहिँकतै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताउनुभयो । प्रतिनिधि सभा विघटन पूर्ण रुपमा अंवैधानिक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीको यस कदमलाई पूर्वप्रधानन्यायाधिशहरु, बारका पूर्वअध्यक्षहरु , पूर्वमहानान्याधिवक्ताहरु, सबै कानून व्यवसायीहरु, सबै राजनीतिक पार्टीहरु, बुद्धिजिवीहरु सबैले एकस्वरले असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई राजनीतिक बाध्यता भन्नेगरेको उल्लेख गर्दै श्रेष्ठले कुनैपनि कारणले संविधान मिच्न नपाईने बताउनुभयो । पार्टी भित्र सरकारको कामकारबाहीको सम्बन्धमा छलफल भइरहेको भएपनि कुनै निष्र्कष ननिस्किदै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उहाँको भनाई छ । कुनै राजनीतिक पार्टीको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाईने बताउनुभयो । सवोच्च अदालतले संविधान अनुरुप फैसला गर्ने विश्वास पनि श्रेष्ठले व्यक्त गर्नुभयो । संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला सर्वोच्च अदालतले गर्यो भने संविधान कागजको खोस्टोमा परिणत हुने र समग्र व्यवस्था नै उल्टिई प्रतिगमनको दिशातर्फ जाने खतरा हुने बताउनुभयो ।प्रधानमन्त्रीलाई असंवैधानिक घोषणा प्रति आत्मआलोचना गर्दै अब प्रतिनिधि सभा सुचारु होस् भन्ने दिशातिर आउन आग्रह समेत गर्नुभयो । यसोभए संविधानलाई ट्रयाकमा राखिने, लोकतन्त्रको रक्षा हुने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने सम्भावनापनि पैदा हुने उहाँले बताउनुभयो ।