प्रदेशसभा पनि विघटन हुन सक्छः मन्त्री तुम्बाहाङ्फे
२० पुस, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनु भएको छ ।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको उल्लेख गर्नुभयो । सरकारले काम गरेको नदेख्ने र अवरोध मात्र भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको उहाँले बताउनुभयो । पूर्व कानुन मन्त्री समेत रहनु भएको मन्त्री तुम्बाहाङ्फेले सडकमा भइरहेको विरोध प्रदर्शनले संसद पुर्नस्थापना नहुने दाबी गर्नुभयो । सरकारले निर्वाचनको तयारी थालिसकेको समेत उहाँले बताउनुभयो ।