संसद विघटन गरेर स्टेरिङ्ग सोझो भयोः प्रधानमन्त्री ओली
१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझो बनाएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझो मात्रै भएको बताउनुभएको हो । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुर्नस्थापना गर्न सम्भव नभएको पनि बताउनुभयो । ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्न भनेपछि ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनरस्थापना हुनै नसक्ने बताउनुभयो । बहुमत प्राप्त सरकार प्रमुखलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको पनि बताउनुभयो । यस्तै भेलालाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताउनुभयो । सरकारको संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको मन्त्री थापाले बताउनुभयो । सरकारले चालेको कदम अदालगतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि गृहमन्त्री थापाले बताउनुभयो ।