माघ ७ गते प्रदेशसभा बैठक बोलाउन सिफारिस
१८ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस गरिएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईं समक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो । बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो । मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेर आफूविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधिसकेका छन् । यसैगरी दाहाल–नेपाल खेमाले मुख्यमन्त्री पौडेललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकेको छ । हाल मुख्यमन्त्रीको पक्षमा ३४ मत छ । दाहाल–नेपाल समूहमा ४६ मत रहेको छ । नेपाली कांग्रेससँग २२ मत रहेको छ । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।