प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीः प्रचण्ड
१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभाको पुर्नस्थापना गरेरै छाड्ने बताउनुभएको छ ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड– माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको भन्दै पुर्नस्थापना गरेरै छाड्ने बताउनुभएको हो । प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विशेष अधिकार अघिल्ला संविधानमा भएपनि राजनीतिक स्थिरताको निम्ति नयाँ संविधानमा हटाएको उल्लेख गर्दै अध्यक्ष प्रच्ण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता तथा समानुपातिक समावेशी प्रतिनिधित्वको विरोधी रहेको र कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारमा स्खलित भइसकेको आरोप लगाउनुभयो । संविधान माथि यति निर्मम प्रहार आजसम्म कसैले नगरेको भन्दै अध्यक्ष प्रचण्डले आफैले बनाएको प्रधानमन्त्रीले यसो गर्नुहोला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । प्रतिनिधि सभा विघटनको विरुद्धमा सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज सबै आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्व न्यायाधिसदेखि हरेक क्षेत्रका मानिसहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्दै प्रतिनिधि सभा विघटनको विरुद्धमा फैसला आउने विश्वास व्यक्त गर्नुभयो । लोकतन्त्र माथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधि ल्याउने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिनिधि सभा विघटन तथा राजनीतिक दल विभाजन हठात निर्णय नभई प्रधानमन्त्री ओलीको वर्षदिनदेखिको योजना रहेको बताउनुभयो । नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफुसँग भएको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफुहरुले पाउनेमा दिनको घामजस्तै छर्लङ्ग रहेको बताउनुभयो ।