ओलीले तीन वर्ष गफ हाँकेर बिताएः झलनाथ खनाल
१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानप्रति विश्वासघात गरेको बताउनुभएको छ ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै बरिष्ठ नेता खनालले नयाँ संविधान बनाउँदा संसद विघटन हुने विषयमा प्रधानमन्त्रीको विशेषाधिकार राख्नुहुँदैन भनेर हटाएको र स्वयं केपी शर्मा ओलीको उपस्थिति रहेको भएपनि ओलीले आफैले बनाएको संविधानमा विश्वासघात गरेको बताउनुभएको हो । देश अस्थिरतातर्फ जान लागेको भन्दै बरिष्ठ नेता खनालले संसद पुर्नस्थापना अनिवार्य शर्त रहेको बताउनुभयो । गत निर्वाचनमा केपी ओलीलाई नभई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भिजनलाई हेरेर जनमत आएको भएपनि ओलीले बालुवाटार पुगेको दिनदेखि पार्टीलाई बिर्सिएको आरोप लगाउनुभयो । पार्टीको नीति अनुरुप सरकारलाई समाजवादी बाटोमा हिडाउनुको सट्टा पूँजीवादी नीति, कार्यक्रम र बजेट ल्याएको तथा तीन वर्ष केवल गफ हाँकेर बिताएको बताउनुभयो । बिगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकताप्रक्रिया प्रधानमन्त्री ओलीको कारण पुरा नभएको भन्दै बरिष्ठ नेता खनालले अब पार्टीको एकता टुंग्याएर नयाँ जनआन्दोलनको आधिँहुरी ल्याउने बताउनुभयो । प्रतिनिधि सभा विघटन विरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलनमा पनि उहाँले ऐक्यबद्धता जनाउँदै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।