संसद विघटन गरेर ओलीले जनमतको खिल्ली उडायोः कांग्रेस नेतृ भुसाल
१३ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ५ माहाराज बन्न नेपाली जनताले जनमत नदिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले श्री ५ महाराजको शैलीमा संसद विघटन गरेर तानाशाही लादन खोजेको आरोप लगाउनुभयो । नेतृ भुसालले कोरोनाको यस विषम परिस्थितिमा जनउत्तरदायी हुनुपर्ने सरकार संसद विघटन गरेर ओलीले जनमतको खिल्ली उडाएको बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनताको छोराछोरी राष्ट्रपति हुने गणतन्त्रात्मक ब्यवस्थामै आघात पुग्नेगरी सरकारले जनमतको अपहेलना गरी संसद विघटन गरेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता बानियाँले जनताको मतलाई कम्युनिष्ट सरकारले उपहास गरेको बताए ।नेता बानियाँले नेपाली कांग्रेस सँधै नेपाली जनताको पक्षमा रहेको उल्लेख गर्दै सँधैं जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विरोध कार्यक्रममा जिल्लाका पदाधिकारी, नेता तथा भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी, सदस्य तथा क्रियाशिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।