ओली सामन्ती शासक जस्तो भयोः प्रचण्ड
१३ पुस, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको छ ।
सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको हो । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरी एकपटक लडने मुद्दा दिनुभएकोले अव हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । २०४७ साल पछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले गरेको प्रहार संविधान माथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता र समावेसी लोकतन्त्रको हक अधिकार माथिको प्रहार भएको पनि बताउनुभयो । कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको बिचारमा गम्भिर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा बैचारिक संस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।