काम गर्न नदिएका कारण संसद् विघटन भयोः नेता रायमाझी

स्वर्णिम खबर
८ पुष २०७७, बुधबार १८:०९

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताउनुभयो । प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताउनुभयो । उहाँले संसद पुर्नस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।
नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विरोध गर्नुभयो । संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पार्नुभयो । तरपनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बठकले गरेका निर्णयहरु कुनैपनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*