घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गरेँः प्रधानमन्त्री ओली
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभएको छ ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताउनुभयो । २०७४ सालको निर्वाचनबाट प्राप्त जनादेश अनुसार सुरुमा सरकार गठनमै भाँजो हाल्न खोजिएको उल्लेख गर्दै ओलीले सरकार गठन भएपछि पनि काम गर्न नदिइएको बताउनुभयो । अन्त्यहिन र अर्थहिन विवादमा अल्झाएर संसदलाई अर्थहिन तुल्याएर जननिर्वाति सरकारलाई असहयोग गरेको कारण जनतामाझा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।
पार्टी अन्य नेताहरुलाई लक्षित गर्दै उहाँले सधै पद र प्रतिष्ठाका लागि मात्रै केन्द्रीत भएको बताउनुभयो । नेकपाको काँधमा अभिभारा पुरा गर्ने गरी राज्य सञ्चालन, नीति निर्माण र जनपरिचालनमा केन्द्रीत हुनुपर्नेमा पार्टीलाई असन्तुष्टि र कुष्ठामा बन्धक बनाउने प्रयास भएको बताउनुभयो । कार्यविभाजन अनुसार आफु सरकार सञ्चालनको काममा केन्द्रीत भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कामहरु अघि बढाउन नसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार पार्टी संरचनामा नेतृत्व हस्तान्रणको वैधानिक प्रणाली बसाल्ने प्रयास गर्दा पन सफल हुने नसकेको बताउनुभयो । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गर्दापनि नेताहरुले ४ महिना समेत कुर्न नसकेको उनले बताए । प्रधानमन्त्री ओलीले विगतका सबै तिता पिराकुरालाई विर्षेर एकतावद्ध भइ निर्वाचनमा सहभागी हुन पनि नेताहरुलाई आग्रह गर्नुभएको । उहाँले प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न पनि आह्वान गर्नुभएको छ ।