संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने

स्वर्णिम खबर
१ पुष २०७७, बुधबार १९:११

१ पुस, काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै पार्टीका सांसदहरुले संसद बैठकको माग गरेर राष्ट्रपति समक्ष पेश गर्ने भनेको आवेदन समेत फिर्ता लिने निर्णय बैठकले गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र सांसदहरुले राष्ट्रपति समक्ष संसद बैठकको माग गरेर पेश गर्न लागेको आवेदन फिर्ता लिने निर्णय भएको बताउनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले कुनैपनि निर्णय नगरेको जानकारी बैठकमा गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको बैठकमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले हिजोको संवैधानिक परिषद्को बैठकमा संवैधानिक नियुक्तीका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराउनुभएको छ । बैठकले स्थायी कमिटीको अर्को बैठक पुष ५ गते बस्ने निर्णय गरेको छ । यस्तै पुष ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष १० गते बस्ने निर्णय समेत बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*