लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी भएनः रामचन्द्र पौडेल
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताउनुभएको छ ।
सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताउनुभयो । लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताउनुभयो । अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको बताउनुभयो । देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीकै बहुमत नेताहरुले नै सरकार भ्रष्ट्राचारमा डुबिसकेको बताइसकेकाले अरु भन्नुपर्ने कुरै नभएको पनि उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसबाट कुनै कमिकमोजरी भएमा सुधार गरी सच्याएर अगाडि बढ्न चाहेको पनि प्रष्ट पार्नुभयो ।