मंसिर २९ गतेको विरोध प्रदर्शनमा सहभागि हुन कार्यकर्तालाई कांग्रेसको आह्वान
२५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।
कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताउनुभयो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो । प्रवक्ता शर्माले सरकार बनेपछाडी बढिरहेको भ्रटाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताउनुभयो । प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताउनुभयो । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माले बताउनुभयो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताउनुभयो । २९ गतेको कार्यक्रम पछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताउनुभयो ।