एन्टिजिन परीक्षण पीसीआरको विकल्प हुन सक्दैनः विज्ञहरु
२१ मंसिर, काठमाडौं । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।
एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताउनुभयो । त्यसकारण एटिजिनबाट फल्स रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताउनुभयो । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताउनुभयो । एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । एन्टिजिनलाई अत्यावस्यक अवस्थामा मात्रै प्रयोग गर्नसकिने उहाँको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउनुभयो । अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरु कुनैपनि आधरिकारीक निकायबाट प्रमाणित भइसकेको छैन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताउनुभयो । अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग¥यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताउनुभयो । सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।