सत्तारुढ दलमा द्वन्द्व भयो भन्दैमा कांग्रेसले खुट्टा उचाल्दैनः प्रवक्ता शर्मा
८ मंसिर, काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ ।
लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो । पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको बताएको हो । शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनकाा लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन । लोकतान्त्रीक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’’
उहाँले प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो की भन्ने आशंका नगर्न पनि आग्रह गर्नुभयो । अहिले सरकारमा सहभागि हुने कांग्रेसको रुचीको विषय नभएको शर्माको भनाई छ । जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफुहरु लालयित नभएको उहाँले बताउनुभयो । उहाँले नेकपाभित्रको द्वन्दमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत बताउनुभयो ।
विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रिय कार्यसमितिको निर्णय अनुसार अगाडी बढ्ने बताउनुभयो ।
भोलीको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्ल्ेख गर्दै शर्माले भन्नुभयो, ‘‘उनीहरु एउटा निश्चित टुंगोमा नपुग्दा सम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको । वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु ।’’