पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्या समाधान हुन्छः माधव नेपाल
२८ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताउनुभएको हो । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने बताउनुभयो । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमि कमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताउनुभयो ।