मुम्बई बन्यो पाँचौ पटक आईपीएल च्याम्पियन

स्वर्णिम खबर
२६ कार्तिक २०७७, बुधबार ०६:३६

२६ कार्तिक, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि साविकको बिजेता मुम्बई इण्डियन्सले जितेको छ ।

मंगलबार राती दुबईमा भएको फाइनलमा चार पटकको बिजेता मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । दिल्ली आइपीएल इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ दशमलब ४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १–१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस अय्यर र रिष्पभ पन्तले उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान अय्यरले अविजित ६५ रन बनाउँदा रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । मुम्बईका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*