म राजीनामा दिनेवाला छैनः प्रधानमन्त्री ओली
१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।
बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । कुनैपनि जालझेल नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताउनुभयो । केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने बानी रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने धेरै कोशिस भएको उहाँले बताउनुभयो ।