पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच संवाद जरुरीः प्रवक्ता श्रेष्ठ
१७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताउनुभएको छ ।
प्रवक्ता श्रेष्ठले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताउनुभएको हो । आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरी एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताउनुभयो । पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उहाँले बताउनुभयो । पार्टीभित्र अहिले औपचारिक रुपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस शुरु भइ नसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिनुभयो ।