नेपालमा थप २६ सय ३८ जना कोरोना संक्रमित थपिए
२८ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । बुधबार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ । बुधबारसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ८०, प्रदेश नम्बर २ मा ८ सय ३१, बागमती प्रदेशमा ९ हजार ५ सय ५६ र गण्डकी प्रदेशमा ६ सय ५५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा २ सय ४८ जना गरी देशभरी १४ हजार ८ सय १९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । बुधबार २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन । हालसम्म देशभरी ८० हजार ९ सय ५३ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।