उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारको अपिल
२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उहाँले बताउनुभयो । उहाँले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशै तिहार जस्ता पर्व मनाउन पनि आग्रह गर्नुभयो । यस्तै सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चालन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागित नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।