एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
१६ असोज, काठमाडौं । काठमाडौं उपत्यका सहित आज देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १६ सय ३८ गरी देशभरी २७ सय २२ जनामा संक्रमण देखिएको छ । १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आज काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ ।
आज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ ।
आज ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ४ सय २, प्रदेश नम्बर २ मा १३ हजार ९ सय २८, बागमती प्रदेशमा १८ हजार ८ सय ५१ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३० गरी आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन । देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन ।