निर्मला पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको गृहमन्त्रीद्वारा स्वीकार
१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभएको छ ।
संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गर्नुभयो । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताउनुभएको छ । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६÷७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताउनुभयो । पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताउनुभयो । थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडी रहेको बताउनुभएको छ । बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताउनुभयो । घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उल्ले गर्दै उहाँले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताउनुभयो । पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उहाँले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताउनुभयो ।