मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय
४ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ ।
नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उहाँले बताउनुभयो । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ । यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उहाँले बताउनुभयो । सो विषयमा निर्णय भने भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी कामहरु पुरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । यस्तै स्थायी कमिटी र केन्द्रिय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रिय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उहाँले बताउनुभयो । पूर्णकालिन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघिय सांसदहरुले कोभिडको अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । बैठक भोली १ बजेका लागि पुनः बोलाइएको छ ।