भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्नेः प्रधानमन्त्री ओली
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ ।
संविधान दिवस (राष्ट्रिय दिवस) का अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दावी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको, राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको उदाहरण उहाँले दिनुभयो ।उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबी समेत गर्नुभयो । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताउनुभयो ।प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताउनुभयो ।