विवादास्पद व्यक्ति नियुक्त गर्दा नतिजा पनि विवादास्पद आउँछः पूर्व अख्तियार प्रमुख
२९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ ।
पछिल्लो आठ÷दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताउनुभएको छ । अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सहीढंले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उहाँले बताउनभयो । नेतृत्व चयन गर्दा नै होस पु¥याएर नगर्दाको परिणाम देखिएको आठ÷दश वर्षयता देखिएको बताउनुभयो । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उहाँले बताउनुभयो । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उहाँको भनाईछ । राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताउनुभयो । अख्तियारमा जाखिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उहाँले बताउनुभयो । अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाधयायको भनाई छ । उहाँले कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियत्रणमा जान बाध्य पार्ने बताउनुभयो । अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उहाँले बताउनुभयो । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरीपनि व्यवहारीक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।