शुक्रबार एकैदिन १४ सय ५४ जना संक्रमित थपिए
२६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।