नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
२५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । आज ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ । आज १ हजार ८ सय १८ जा संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन ।