एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग आफै निवास बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाउनुभएको हो । एसिड आक्रमणजस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न अहिलेसम्म कडा कानून नभएको उल्लेख गर्दै उहाँले १५ दिनभित्र कानूनको मस्यौदा तयार हुने बताउनुभयो । कोरोना महामारीका कारण संसदबाट कानून ल्याउन समय लाग्ने भएकाले अध्यादेश मार्फत कानूनको मस्यौदा तयार गरिने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानूनमा हुने बताउनुभयो । पीडितका लागि वास्तविक क्षतिपूर्ति भन्ने नभएपनि अपराधिबाट औषधिको व्यवस्था लामो समयसम्म गराउने, उपचारको प्रवन्ध मिलाउने गरी उसको सम्पत्ति रोक्का गरिन्छ । रोक्का गरिएको सम्पत्ति उपचारका लागि अपुग भएपनि तत्काल रोक्का गरी जफत गरिने उहाँले बताउनुभयो । १२ जना एसिड पीडितहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफुले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा आए भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने बताउनुभयो ।