चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार २ सय ९४ किलोग्राम लागूऔषध गाँजा बरामद
२८ पुस, हेटौँडा । मकवानपुर जिल्ला लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको अर्धवार्षिक विवरण अनुसार मकवानपुर लागू औषधको उत्पादन, खपत, ओसारपसार, बिक्रीवितरण लगायतमा ट्रान्जिट प्वाइन्टका रुपमा रहेको उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा लागूऔषध तर्फको मुद्धा दर्ता, पक्राउ परेका व्यक्ति तथा बरामद भएको लागू औषधको तथ्यांकले प्रहरीको भनाईलाई पुष्टि गरेको छ ।
प्रहरी प्रमुख विश्वराज खड्काले ६ महिनाको अवधिमा कार्यालयमा दर्ता भएका ४ सय ७४ मुद्दा मध्ये ७० मुद्धा लागूऔषध सम्बन्धि रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनदेखि पौष २८ गतेसम्म प्रहरीले ३ हजार २ सय ९४ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । चालू आर्थिक वर्षको हाल सम्म मकवानपुर प्रहरीले ८९ बिगाह ११ कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा तथा २४ बिगाह ३ कठ्ठा अफिम खेति फडानी गरि नष्ट गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
यो अवधिमा प्रहरीले सुन, चाँदी, अवैध कपडा, खाद्यान्न गरि २ करोड ३६ लाख बराबरका अवैध भन्सार छलिका सामग्री नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले ४५ हजार अवैध मुद्रा नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धानमा प्रभावकारी मानिने सिसिटिभि मकवानपुरमा १ सय ५९ वटा रहेकोमा ८० वटा मात्रै चालू अवस्थामा रहेको र थप ४० वटा आवश्यक पर्ने उहाँले बताउनुभयो ।
सार्वजनिक विवरण अनुसार मकवानपुरमा पछिल्लो ६ महिनामा सवारी दुर्घटना बढेको देखिएको छ । यो अवधिमा १ सय ५१ सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ४ सय ९ जना घाइते भएका छन् ।