बालेन शाहले उठाए प्रदेश सरकारको भुमिका माथि प्रश्न

स्वर्णिम खबर
२८ पुष २०८१, आईतवार १४:३७

२८ पुस, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारको भूमिकाबारे प्रश्न उठाउनुभएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीका क्रममा मेयर शाहले अहिलेकै अवस्थामा अधिकार लिने र दिनेगरी प्रदेश सरकारले आभास दिलाउन नसकेको गुनासो राख्नुभयो ।
स्थानीय सरकारका समस्याहरू पनि संघ सरकारलाई नै भन्नुपर्ने हुँदा प्रदेश सरकारको आवश्यकता किन ? भन्दै मेयर शाहले प्रश्न गर्नुभएको हो । प्रदेश सरकार अभिभावक भएर स्थानीय तहलाई सक्षम बनाउन लाग्नुपर्ने बताउँदै उहाँले उदार दृष्टिकोणको अपेक्षा राखेको मेयर शाहको सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा बागमती प्रदेश सरकारले कायम गरेको दररेटका कारण महानगरपालिकाको राजस्व संकलन घटेको मेयर शाहको गुनासो थियो । हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन पनि मेयर शाहले आग्रह गर्नुभयो । छलफलका क्रममा प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*