कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैनः मन्त्री गुरुङ
२६ पुस, काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका बिषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने दाबी गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने दाबी गर्नुभयो । संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उहाँको भनाई छ ।
प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरु पहिचान गरेर दुईदलले संशोधनको बिषय किटान गर्ने र त्यसपछि उक्त बिषयमा अन्य दलहरुसँग छलफल गरिने बताउनुभयो । संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
प्रवक्ता गुरुङले सदनमा होल्डमा रहेका विधेयकहरुलाई समेत अन्य दलसँग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने बताउनुभयो ।