बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा दुधौलीमा छलफल
२५ पुस, हेटौँडा । बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम दुधौली नगरपालिकामा बिहिबार सम्पन्न भएको छ ।
बागमती प्रदेशसभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानिय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले कानुन निर्माण गर्दा स्थानीय सरकार, सरोकारवाला, विज्ञ र जनप्रतिनिधिहरुसङ्ग छलफल गरिनुपर्ने बताउनुभयो । यस्तै उपसभामुख अप्सरा चापागाईंले प्रदेश तथा स्थानीय तहले बनाएका कानुनका बारेमा सबै जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी लगायत जनप्रतिनिधिहरूले संघ र प्रदेशले बनाएका कानुनहरु बाझिएका कारण स्थानीय तहहरुले समस्या भोग्नुपरेको बताउनुभयो । संविधान सभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गगा नारायण श्रेष्ठ, प्रदेश सभा सदस्यहरु छेत्र बहादुर बम्जन, रामकुमार पाहाडी, शुस्पा भुजेल न्यौपाने , बागमती प्रदेश सभा सचीव कृष्ण हरि खड्का लगाएतको उपस्थिति रहेको थियो ।