आलु रोप्न मल अभाव भएपछि थाहाका किसान मन्त्रालय पुगे
२२ पुस, हेटौँडा । आलु रोप्ने सिजन लागिसक्दा डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि थाहा नगरपालिकाका किसान समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी बिकास मन्त्रालय आईपुगेका छन् ।
सोमबार नेकपा एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा आएको किसानको टोलीले कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई भेटेर मल उपलब्ध गराईदिन आग्रह गरेका छन् । आलु रोप्न ड्याङ नै तयार भईसक्दा पनि किसानले मलको अभावमा आलु रोप्न सकेका छैनन् । अहिले निजी क्षेत्रका ब्यापारीसंग महङगो मुल्य तिरेर किसानहरुले आलु रोप्नुपरेको छ ।
मकवानपुरको थाहा नगरपालिका आलु उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ । आलुको व्यवसायिक खेती हुँदै आएको थाहानगरमा रासायनिक मलको आपूर्ति सहज बनाउन पालिकाको पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको किसानहरुको गुनासो छ । छलफलकै क्रममा मन्त्री श्रेष्ठले माघको अन्तिमसम्म डिएपी र युरिया मलको व्यवस्थापन भइसक्ने आश्वासन दिनुभयो । पालिकाहरुको वस्तुगत स्थिति बुझेर मलको लागि कोटा निर्धारण गर्ने समेत उहाँले बताउनुभयो ।
थाहा नगरका ९ हजार कृषक परिवार आलुखेतीमा आबद्ध छन् । थाहानगरको ७ सय हेक्टरमा आलुखेती हुँदा ७० हजार किलो आलुको बीउ रोप्ने गरेका छन् । यहाँका किसानले आलुबाट वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् ।