संविधान संशोधनका क्रममा वर्तमान व्यवस्थामाथि सम्झौता हुँदैनः रास्वपा
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका लागि पार्टीको धारणा तय गर्न कार्यदल गठन गरेको छ ।
काठमाडौंमा जारी पार्टी केन्द्रिय समितिको बैठकले पार्टीका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो । संविधान संशोधन कार्यदलका संयोजक परियारले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने विज्ञसँग छलफल गरी दलको तर्फबाट सार्वजनिक धारणा बनाउने बताउनु भयो ।
प्रमुख सचेतक परियारले संविधान संशोधनका क्रममा संघीयता, गणतन्त्र र वर्तमान व्यवस्थामाथि पार्टीले कुनै सम्झौता नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले रास्वपा संविधानलाई अझै समृद्ध र मजबुत बनाउने कुरामा अडिग रहेको दाबी गर्नुभयो । उहाँले संवैधानिक व्यवस्थाकै कारण संघ, प्रदेश र स्थानीय तहमा अधिकार बाँडफाँडको कुरा नमिलेको बताउनु भयो ।
प्रमुख सचेतक परियारले संविधान संशोधनको लागि संघीय संसदमा बहुमत हुनुपर्ने व्यवस्थाका कारण काँग्रेस र एमालेले चाहेर मात्र संशोधन गर्न नसकिने बताउनुभयो । उहाँले विधेयक बनाउनु र संविधान संशोधन गर्नु फरक कुरा भएको उल्लेख गर्नुभयो ।
प्रमुख सचेतक परियारले विधेयक बनाउनका लागि सहमति वा बहुमतको आवश्यकतापर्ने भएपनि संविधान संशोधनको लागि राष्ट्रिय सहमति आवश्यक पर्ने टिप्पणी गर्नुभयो । संसदका दुई दलले दबाब दिने कुराले संसदका साना दलहरुलाई अझै जिम्मेवार बनाउने उहाँको भनाई छ ।
प्रमुख सचेतक परियारले संविधान संशोधन गर्ने मुख्य एजेण्डासहित काँग्रेस र एमालेको समिकरणमा सरकार बनेको बताउनुभयो।