विषादी संघ मकवानपुरमा पुनः सुबास मल्ल ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२० पुस, हेटौँडा । विषादी व्यवसायी संघ नेपाल मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पुनः सुबास मल्ल ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुबेदी चयन भएका छन् । अधिवेशनमा व्यवसायीहरूको भूमिका, विषादीको प्रभावकारी व्यवस्थापन, र यस क्षेत्रको दीर्घकालीन योजनाबारे छलफल गरिएको थियो ।
संघका अध्यक्ष सुबास मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले विषादी व्यवसायलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउनका लागि विभिन्न सुझाव र योजनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष छोटेलाल साहले संघको मूल उद्देश्य विषादी व्यवसायलाई सुरक्षित, जिम्मेवार, र व्यवस्थित बनाउँदै किसान, उपभोक्ता, र वातावरणको संरक्षण गर्नु रहेको बताउनुभयो ।
यस्तै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलक कडेलले आजको समयमा कृषिको उत्पादकत्व वृद्धि गर्न र कीट तथा रोग व्यवस्थापनमा विषादीको महत्ववपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा मकवानपुरमा रहेर लामो समय कृषी तथा विषादी व्यवसाय गर्दै आएका अग्रज व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल र राजु अधिकारी, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष हरिशरण अर्याल, विषादी व्यवसायी संघ निवर्तमान अध्यक्ष बिजय कनौडिया, नेपाल फर्टिलाईजर एशोसियशन प्रदेश उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।