राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरीः अध्यक्ष दाहाल
२० पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनु भयो । उहाँले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताउनु भयो ।
अध्यक्ष दाहालले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । उहाँले राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनु भयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नेपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताउनुभयो ।