हेटौंडाका दुई विद्यालयको टोली बुटवलको कालिका माविमा
१८ पुस, हेटौँडा । हेटौंडाका दुई ठूला सामुदायिक विद्यालय भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविलाई एकीकृत (मर्ज) गर्दै मेघा विध्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानव ज्ञान विद्यालयको अवलोकन गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक माविका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का संयोजक श्रीराम दाहाल, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिषचन्द्र सापकोटा सहितको टोलीले देशकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गर्ने कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको हो ।
अबलोकनको क्रममा हेटौंडाको टोलीले उक्त विद्यालयलाई मर्ज गर्दाको अवस्था, ठूलो संख्याको कर्मचारी र विद्यार्थीको सफल व्यवस्थापन, चुनौती, संभावना र अवसरको बारेमा कालिकाकाको विद्यालय प्रशासनसंग जानकारी लिएको थियो ।
कालिकाका प्रधानाध्यापक दिनेश थापाले मर्ज गरिने दुई विद्यालयको व्यवस्थापन समिती, स्थानीय सरकारले समन्वयको भुमिका निर्वाह गरे मर्ज गरिने प्रक्रिया ठूलो समस्या नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलले सिमाना जोडिएको विद्यालयलाई एक बनाएर देशकै ठूलो र नमुना विद्यालय बनाउने अभियानमा सम्पुर्ण हेटौंडाको सहयोग रहेको उल्लेख गर्नुभयो ।
आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।